नेपाली काँग्रेस इटहरी उप–महानगर समितिले इटहरी खानेपानी उपभोक्ता संस्थालाई विभिन्न कागजात माग गर्दै पत्राचार गरेको छ ।
नेपाली काँग्रेस इटहरी उप–महागनर समितिले इटहरी खानेपानी उपभोक्ता संस्थासँग मतदाता नामावली, गत ५ बर्षको आय व्यय विवरण समेटिएको लेखापरीक्षण प्रतिवेदन, संस्थाको हालको विधान र संस्था दर्ता ऐनको प्रतिलिपी माग गरेको हो ।
खानेपानी उपभोक्ता संस्थामा बुझाएको पत्रमा इटहरीबासीले स्वच्छ, सफा र शुद्ध खानेपानी पिउन पाउनुपर्नेमा नेपाली काँग्रेस इटहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि इटहरी खानेपानीलाई काँग्रेसको निरन्तर साथ, सहयोग रहने उल्लेख गरिएको छ ।
इटहरी काँग्रेसका कार्यवाहक सभापति कोविदजङ्ग कार्कीद्वारा हस्ताक्षरित पत्रमा उपभोक्ताप्रति जवाफदेही खानेपानी संस्थाको पारदर्शीता,निष्पक्षता र वित्तिय तथा लेखा सम्बन्धी गहन अध्ययन गर्नका लागि उल्लेखित कागजात माग गरिएको जनाएको छ ।
उल्लेखित कागजात माग गरिएको पत्र कार्यवाहक सभापति कोविदजङ्ग कार्की, उप–सभापति शिवराज दहाल र नगर सचिव विजय केसीले इटहरी खानेपानीका प्रबन्धक हरिबहादुर कटवाललाई बुझाएका थिए ।
कागजात मागिएको विषयमा जानकारी दिदै कार्यवाहक सभापति कोविदजङ्ग कार्कीले अहिले पनि इटहरीबासी मध्ये ५० प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै माग गरिएका आवश्यक कागजात अध्ययन पश्चात काँग्रेसले इटहरी भर स्वच्छ खानेपानी वितरणमा सहयोग तथा खबरदारी गर्ने उद्धोष गरे ।














Discussion about this post