इटहरी : इटहरीमा बसेर साहित्य साधनामा क्रियाशिल रहेका कवि बद्री भिखारी अहिले पढ्न र लेख्नमा व्यस्त छन् ।
आइतबार साँझ भिखारीको घरमा पुग्दा उनी आफ्नी आमालाई यता–उता गरिरहेका थिए । ‘केही दिन अगाडिमात्र आमाको लय संस्मरण लेखिसकेँ,’ भिखारीले सुनाए, ‘आमासँग बिताएका दैनिकी त्यो संस्मरणभित्र छ ।’
३० को उत्तरार्धदेखि कविता लेखनमा सक्रिय रहेका कवि भिखारीकी आमालाई विगत ७ बर्षअगाडिबाट अल्जाइमर रोग (बिर्सने रोग) लागेकाले सबै पुराना कुरा बिर्सने भएकाले आफ्नी आमासँग बालापन जस्तै रमाउँदै आएका छन् ।
‘तपाईँ को हो ? म घर जान्छु भनिरहनुहुन्छ आमाले,’ भिखारीले टाकुरान्यूजसँग भने, ‘आमालाई हेर्दै, आमासँग खेल्दै, कहिले आमाको काखमा सुत्दै दुईवटा किताब लेखिसकेँ, यो बर्ष दुईवटै किताब बजारमा आउँनसक्छ ।’
‘आमाको लय’ शीर्षकको निबन्धसंग्रह लेखिसकेकाले यो बर्षभित्र उक्त किताब आउँनसक्ने उनको संकेत थियो । एक वर्ष अगाडिबाट लेख्न थालेको उक्त पुस्तक लेखिसकेपनि आफ्नो परिचय कविकै रहेको उनको तर्क थियो ।
‘लकडाउनले राम्रै उपलब्धि भयो, एक दर्जन किताब पढेँ, केही लेखेँ पनि,’ उनी भन्छन्, ‘आमासँग खेल्ने, पढ्ने र लेख्ने गर्दै आएको छु ।’
आमाको लयबाहेक अर्को किताब ‘प्रिय अखडा’ पनि लेखिसकेको उनले सुनाए । ‘प्रिय अखडामा २१ वटा संस्मरण छ,’ उनले सुनाए, ‘प्रिय अखडा र आमाको लय किताब आउँदा पनि मेरो परिचय कविकै हुन्छ ।’
उनले निबन्ध र संस्मरण लेखिसक्दा आँफूले कविता लेख्न नसकेको स्वीकार गरे । भिखारीले टाकुरान्यूजसँग भने, ‘लेखनमा व्यस्त त भएँ, तर कवितामा लाग्ने सबै उर्जा निबन्धमा खनाइदिएँ ।’
भिखारीको यसअघि तीनवटा संग्रह प्रकाशित छन् । ‘
मुक्तकसंग्रह’ ०४३, ‘माड्साबको झोला’ कविता संग्रह ०५६ र ‘समुद्र साउती’ कविता संग्रह ०७५ प्रकाशित रहेका छन् ।
इटहरीमा बसेर झण्डै चार दशक अगाडिबाट साहित्य साधनामा सक्रिय भिखारी नयाँ पुस्ताका लागि उर्जा र प्रेरणाका स्रोत हुन् ।














Discussion about this post