उठायौ तिमीले म अग्लेँ मजाले
निफन्दा निफन्दा म सग्लेँ मजाले
तिमी अग्नि तातो बनी छेउ आयौ
थिएँ ठोस नौनी म पग्लेँ मजाले १
(रत्नविरही घिमिरे)
छन्दोवद्ध मुक्तकको लयबद्ध वाचनबाट कार्यक्रम सुरु भयो । कार्यक्रमका सञ्चालक थिए गणेश खतिवडा र शिवराम खड्का । देशभरीका उत्कृष्ट मुक्तककारहरू एकैठाउँमा भेला भएका थिए । साँझको समय उल्लासमय थियो साथमा मुक्तकको माहोल । कात्तिक १ गते साँझको ठीक छ बजे तोकिएकै समयमा कार्यक्रम सुरु भयो र यो सन्दर्भ जुटाएको थियो दियालो साहित्य सरगमले ।
चितवन वन विल्का फेरि वाहाल् चलाया
चहुँदिश पनि वैरी बैरिका पित् गलाया
वरिपरि बसि वैरी मन्मनै मन् जलाया
छुटफुट पसि आया गुन् लिया काम लाया ।।
(उदयानन्द अर्याल)
वीरगाथा कालका कवि उदयानन्द अर्याल तथा आधुनिक कालको पूर्वार्धका कवि महानन्द सापकोटाका छन्दका मुक्तकबाट उठान गरिएको कार्यक्रममा नेपालका सातै प्रदेशका चर्चित मुक्तककारका मुक्तकले कार्यक्रमलाई निकै उचाईमा पुर्याएको थियो । सुदूर पूर्व इलामकी मुक्तककार पुष्पा खनालदेखि सुदूर पश्चिम डडेल्धुराकी मुक्तककार पार्वती भट्टसम्म समेटिएको कार्यक्रममा हरिकृष्ण काफ्ले, सुनिल अधिकारी, सन्तोष अम्गाईँ, सरला लामिछाने लगायतले एक पछि अर्को अझै सशक्त र खँदिला मुक्तक प्रस्तुत गर्दै जाँदा साँढे दुई घण्टाको समय फुत्तै बितेको पत्तै भएन ।
कहाँ पुग्छ्यौ र के गर्छ्यौ खबरदारी भयो जीवन
घरी माया घरी घुर्की लुकामारी भयो जीवन
म तिम्रो अङ्गरक्षकझैँ यता डुल्दा उता घुम्दा
कतै घोच्ने कतै कोर्ने बयरघारी भयो जीवन
(गणेशप्रसाद खतिवडा)
प्रस्तोता शिवराम खड्का र गणेश खतिवडाले जवाफी मुक्तकका रूपमा बिचबिचमा छन्दोबद्ध मुक्तकका लयबद्ध प्रस्तुति थप्दै लगेका थिए । वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले अतिथि मुक्तककारका रूपमा उस्तै मिठा मुक्तकको स्वाद पस्के ।
उता मूल फुट्दा यता भो खडेरी
दियालो निभेझैँ छ मनको मझेरी
सिसाकै थियो दिल फुटायौ झर्याम्म !
र पो टिल्पिलायो नयनको पँधेरी !!
(शिवराम खड्का)
समालोचक ज्ञानु अधिकारीले गर्नुभएको समीक्षात्मक टिप्पणी तथा प्रमुख अतिथि रहेका प्राज्ञ डा. देवी नेपालले दिएको ऐतिहासिक मन्तव्यले कार्यक्रमलाई विशिष्ट बनाएको थियो । नेपालले मुक्तक लेखनको बारेमा ऐतिहासिक, सैदान्तिक र संरचनात्मक कुरालाई व्यवस्थित ढंगले व्याख्या गर्दै मुक्तकमा लय हुनुपर्ने कुराको पुष्टि समेत गरे ।
ढलेको घडाझैँ भयो जिन्दगानी
निभेको दियोझैँ छ मेरो कहानी
तिमी बस्न खोज्छौ नयनका कुनामा
जहाँभित्र केवल छचल्किन्छ पानी ।।
(प्रतीक्षा पोख्रेल)
मुक्तकमा लयचेतको पुनर्जागरण गराउन दियालो साहित्य सरगमले एउटा अभियान नै थालेको छ । वि. सं. २०७५ चैत्र ८ गते राष्ट्रिय नाचघरबाट यस प्रकारको अभियान थालेको र यो कार्यक्रम त्यसैको निरन्तरता रहेको कुरा दियालो साहित्य सरगमका उपाध्यक्ष शिवराम खड्काले बताए ।
यसरी लयलाई नै प्राथमिकतामा राखेर गजल र मुक्तकका अन्य कार्यक्रमहरू गर्दै जाने तथा छन्द र मुक्तछन्दलाई बराबरी प्राथमिकता दिएर कविताका कार्यक्रम गर्ने कुरा दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले बताएकी छिन् ।
Discussion about this post