इटहरी
फेब्रुअरी १४, प्रणय दिवस
यस्तो हुने दिनको नहुने समयलाई
ह्याप्पि भ्यालेन्टाइन डे
डोबमा मलाई छाँडी
बगेका तिम्रा ती पैतालाका रफ्तारहरू
यसैगरी तैरिरहनु अनि म सडिरहूँ
भएर तिम्रो पैतालाको धुँलो
यसैगरी कसिङ्गरझैँ समेटिरहूँ
बितेको दिन म बितिसकेको दिनलाई
ह्याप्पि भ्यालेन्टाइन डे
पर्खिएका आशाहरू
अनसन बसेका सपनाहरू
मुर्दा भई चितामाथि बसिगए
दागबत्ति प्रेमको, खरानी भई सकिगए
छँदाछँदै बाँकी नरेहेको अस्तित्वलाई
ह्याप्पि भ्यालेन्टाइन डे
बनेर जोडी बसेका बिजोडीहरू
दिएर अनि पाएर बनेका सहयात्रीहरू
प्रेम साट्न पनि दिन पर्खिनेहरू
खुद्रा आफू भई पनि साटिन खोज्नेहरू
ह्याप्पि भ्यालेन्टाइन डे
चुरोट
प्रत्येकचोटि प्रेम तानेर बिछोड फ्याल्छु
यादका ती तमाम ठुटाहरूलाई
ह्याप्पि भ्यालेन्टाइन डे
रक्सी
खान्नँ भन्दाभन्दै झन् बढी खान्छु
सम्झिन छोडेको दिनै झन् बढी सम्झन्छु
सम्झिँदै रित्तिएका ती खाली सिसीहरूलाई
ह्याप्पि भ्यालेन्टाईन डे
अक्षर
वर्णहरू छान्दै फेरि नकार्दै
लेख्दै अनि मेटाउदै
मेटाउदै अनि लेख्दै
कोरमेटमै समेटिएका अक्षहरूलाई
ह्याप्पि भ्यालेन्टाइन डे
टुक्रिएका सिसा बोकी सिसालाई जोड्न खोज्दैथेँ
वेल्डिङ गर्न नसकिएका ती सम्बन्धहरूलाई
ह्याप्पि भ्यालेन्टाईन डे
आउँदै अनि जाँदै गरेका निन्द्राका झप्किहरू
बन्दै गए जस्तै ती लोडसेडिङ बत्तिहरू
आँखा नभएकाहरूले भन्ने हो रातपछि दिन
मलाई सोध कसैले, भनिदिन्छु (रातपछि कति हो कति रात आउँछ
सहारा अन्धकारको ती बेसहारा रातलाई
ह्याप्पि भ्यालेन्टाइन डे
कैद भएको पन्छी पखेटा भएर पनि उड्न पाउँदैन
बनिसकेको प्रेमिल जोडी बनेर पनि हुन पाउँदैन
घेरो भित्र घेरिएको घेरैले घेरेको
त्यो निसास्सिलो उकुसमुकुस प्रेमलाई
ह्याप्पि भ्यालेन्टाइन डे
ह्याप्पि भ्यालेन्टाइन डे !
Discussion about this post