इटहरी : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले इटहरीमा नेकपा एमालेले जनतासमक्ष चुनाव जित्न मात्रै जाने गरेको तर्क गरेका छन् ।
इटहरी २० तरहरामा शुक्रबार भएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘एमालेको संगठन इटहरीलाई जिताउन होइन, चुनाव जित्न मात्रै आएको हो ।
उनले यसअघि नेकपा एमालेले गरेको घोषणापत्रमा उल्लेख भएका काम अलपत्र परेको बताए ।
‘यही मञ्चबाट सर्वध्वज साँवाले इटहरीमा आकासे पुल, डेटिङ स्पोर्ट र आहा इटहरी बनाउँछु भनेर उद्घोष गर्नुभएको थियो, त्यो आहा इटहरी अहिले स्वाहा भएको छ,’ पौडेलले भने, ‘इटहरीका थारुहरूलाई र सुकुम्बासीहरूलाई प्रलोभनमा पारेर भोट बैँकको रूपमा मात्रै प्रयोग गरियो ।’
उनले यहाँका थारुहरूको मुद्वा अझैपनि अलपत्र परेको उल्लेख गर्दै अब गठबन्धनको नेतृत्वमा इटहरीमा सरकार बनेको अवस्थामा आम मानिसको स्तरोन्नतिका निम्ति काम गर्ने दाबी गरे ।
‘यो गठबन्धनले जित्दै गर्दा दुईवटा दलले मात्रै जित्ने होइन, यो गठबन्धनले जित्दै गर्दा यहाँका गरिब, मजदुर, विपन्न, अपाङ्गसहित सर्वहारा मानिसले जित्छन्,’ उनले भने, ‘गठबन्धनले जितिसकेपछि एउटा खाका तयार गरेर हामी जनताकै सल्लाहमा काम गर्नेछौँ, हामीले संकल्पपत्रमा उल्लेख गरेका छौँ ।’
उनले जनताको गाँस, बास, कपास जस्ता आधारभूत आवश्यकता पूरा गर्नका निम्ति आफूले सकारात्मक काम गर्ने उनले बताए । उनले गुरुयोजना बनाएर सुशासन र भ्रष्टाचारमुक्त नगरको रूपमा काम गर्नका लागि आफूहरूको उम्मेदवारी रहेको बताए ।
‘सरकारसँग कुरा राख्न यसअघि जनता डराउनुपथ्र्यो, अब स्वतन्त्र नागरिकको पनि सरकार भएको अनुभूत हुन्छ,’ उनले भने, ‘यसअघि हामीले जसरी दलको झण्डा ओढेर हिँड्थ्यौँ, अब बिजेता भइसकेपछि दलको चप्पल गेट अगाडि राखेर नगरको हितमा काम गर्छौँ ।’
भिडियो



















Discussion about this post