धनकुटा : धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ ।
औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पाख्रीबास र हिलेका पाँच वटा फार्मेसीले औषधी बिक्री–वितरणसम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको हो ।
अनुगमनका क्रममा पाख्रीबास नगरपालिका–४ बजारमा सञ्चालित पाख्रीबास पाथीभरा औषधी पसलमा औषधी बिक्री गर्न अधिकारप्राप्त व्यवसायी नै अनुपस्थित रहेको अवस्थामा फार्मेसी सञ्चालन भइरहेको भेटिएको थियो ।
त्यहाँ दर्ता नभएका औषधी तथा फ्रिजमा राख्नुपर्ने औषधीसमेत तोकिएको तापक्रममा नराखिएको पाइएपछि फार्मेसी तत्काल सिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाका अनुसार औषधीको भण्डारणदेखि बिक्री वितरणसम्मका आधारभूत मापदण्ड उल्लङ्घन गरेको पाइएपछि पसल बन्द गरिएको हो । अनुगमन टोलीले हिलेमा सञ्चालनमा रहेका अन्य फार्मेसीमा पनि कमजोरी फेला पारेको छ ।
प्रकाशबाबु शाहले सञ्चालन गरेको हिले फार्मेसीमा औषधी बिक्री–वितरणको अभिलेख नराखिएको र म्याद सकिएका औषधी छुट्टै राख्ने व्यवस्था नभएको भेटिएपछि सञ्चालकलाई विभागमा उपस्थित हुन निर्देशन दिँदै दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
यसैगरी अमित थापाको बुद्ध फार्मेसी, भगवती पाण्डेको भगवती बक्रकुण्ड फार्मेसी तथा ललित घिमिरे र पीताम्बर दासले सञ्चालन गरेको उज्यालो मेडिकल हलमा पनि आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि तीनै फार्मेसीका दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय, हिले प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाख्रीबाससहितको टोलीले बुधबार हिले र पाख्रीबास क्षेत्रमा सञ्चालित औषधी पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा दिव्या फार्मेसी हिले, हाङ्खिम फार्मेसी पाख्रीबास र जनसेवा मेडिकल हिले भने सामान्य अवस्थामा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
औषधी पसलमा अधिकारप्राप्त व्यवसायीको उपस्थिति, औषधीको दर्ता, भण्डारणको उचित तापक्रम, बिक्रीको अभिलेख र म्याद गुज्रिएका औषधी व्यवस्थापनजस्ता विषयमा समेत लापरबाही देखिएपछि नियमित अनुगमनको आवश्यकता थपिएको छ ।















Discussion about this post