संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’
यसैबीच भोलि बिहीबार आमहड्ताल घोषणा भएसँगै इटहरीमा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाउने तयारी गरेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले टाकुरासँग भने, ‘भोलि बन्द नै भन्ने कुरा आधिकारिक रुपमा त आएको छैन, तर हामी सुरक्षा ब्यवस्थालाई कडा बनाउने तयारी गरिरहेका छौँ ।’
उनले अहिलेसम्म आमहड्तालबारे आफूहरुलाई कुनै पनि आधिकारिक सूचना नआएको भएपनि नकारात्मक घटना हुन नदिनका लागि प्रहरी तैनाथ रहेको जानकारी दिए ।
‘त्यस्तो कुनै नकारात्मक घटना हुन नदिनका लागि प्रहरी तैनाथ छन् ।’ उनले भने ।














Discussion about this post