चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैँकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा ९ का २९ बर्षीय पंकज पौडेली बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौँमा ठगी मुद्दा दर्ता भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ बाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बिकको साथबाट नगद तीन लाख छपन्न हजार सात सय दश रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रवाट दुई लाख आठ हजार दुई सय रुपैँया र गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा आठ लाख तिस हजार तीन सय पाँच रुपैँया गरी जम्मा तेह्र लाख पन्चानब्बे हजार दुई सय पन्ध्र रुपैँया नगद बरामद भएको छ ।
त्यस्तै, उनको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान ,विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपि, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको २ थान मोबाइल बरामद भएको छ ।
ठगीको आरोपमा पक्राउ परेका बिकलाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मीनभवन काठमाडौँ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post