नेपाल–भारत सीमानजिक भारतको बिहारमा नेपाली किशोरीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ ।
घटना लुकाउन र प्रमाण नष्ट गर्ने योजना अनुसार किशोरीको शव जलाइसकेपछि घटना बाहिरिएको हो । भारतका प्रहरी अधिकारी र घटनामा संलग्नबीचको अडियो वार्ता सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।
१९ दिनअघि भएको यस घटनामा संलग्न रहेको आशंकामा ११ जनाविरुद्ध गत फ्रेबु्रअरी २ मा उजुरी परेको छ । घटना बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाएको जानकारी नेपाल प्रहरीले पाएको छ । बर्दियाका डीएसपी हेम शाहीका अनुसार किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए । किशोरीका भिनाजु नवलसिंह विकका अनुसार उक्त घटना २१ जनवरीमा भएको हो ।
भारतीय नागरिकहरु विनय साह, दीपककुमार साह, रमेश साह र देवेन्द्रकुमार साह लगायतविरुद्ध सामूहिक बलात्कार र हत्याको उजुरी परेको छ ।
अन्य सात जनाविरुद्ध जबर्जस्ती शव जलाएर प्रमाण नष्ट गरेकामा मुद्दा दर्ता भएको छ । घटनामा संलग्न सीताराम साह र उनका छोरा दीपकलाई प्रहरीले पक्राउ गरे पनि अरु फरार रहेको जनाइएको छ ।
बलात्कार र हत्यामा संलग्नलाई भारतीय कानुनअनुसार फाँसीको सजाय दिन माग गरिएको छ ।














Discussion about this post