भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता फागुन ७ गतेदेखि सुरु हुने भएको छ।
७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिले उक्त प्रतियोगिता गर्न लागेको हो।
समितिका संयोजक श्यामकुमार राउतले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीका बारेमा जानकारी गराए। क्रिकेट खेलको बिकास र खेलाडीहरूको पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागेको उनले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजेता टीमलाई नगद २० हजार र उपविजेता टीमलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिए। त्यस्तै उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्मेन, म्यान अफ द म्याच, म्यान अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ।
प्रतियोगिता आइसिसीको नियम अनुसार एक दिनमा दुई वटा मात्र खेल खेलाइने आयोजकले जनाएको छ। भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले संघीयता पश्चात् पहिलो पटक नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएका छन् ।




















Discussion about this post