धरान :धरानमा जारी २१ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका वडा नं. १४ ले हात पारेको छ ।
आज शनिबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर १६ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै वडा नं. १४ ले उपाधि हात पारेको हो ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । थप भएको १५ मिनेट समयमा कुनै निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । आयोजक गोधुली क्लबले दिने भनेको पुरस्कार राशीमा धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविणले २५ हजार थप समेत गरेका थिए । उनले विजेता र उपविजेता दुवै टोलीलाई २५–२५ हजार नगद पुरस्कार थप गरिदिएका थिए ।

विजेता वडा १४ ले कुल १ लाख ३६ हजार १ सय ११ रुपैया र च्याम्पियन ट्रफी हात पार्यो भने उपविजेता वडा १६ ले कुल ८० हजार ५ सय ५५ रुपैँया हात पार्यो । यसअघि आयोजक क्लबले विजेतालाई १ लाख ११ हजार १ सय ११ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैया मात्र नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं १४ का विवेक राई घोषित भए । उनले नगद ११ हजार हात पारे । यस्तै, उत्कृष्ट कोचमा वडा नं १४ का पर्वत राई, वेष्ट डिफेन्समा वडा नं १४ का आशिष पुरी, वेष्ट मिडफिल्डमा वडा नं १६ का लकेन लिम्बु, वेष्ट स्ट्राइकरमा वडा नं १६ का मन्दिप बस्नेत र वेष्ट गोलकिपर वडा नं १४ का राजिव खड्का घोषित भए । उनीहरुले जनही नगद ५ हजार हात पारे ।
प्रतियोगिताभरि ५ गोल गरेका वडा नं ८ का प्रविन राईले हाइस्कोर पुरस्कार ७ हजार ५ सय पाए भने फाइनल खेलको म्यान अफ दि म्याच वडा नं १४ का नाहिर श्रेष्ठ घोषित हुँदै नगद ५ हजार पाए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा नं ११ का अध्यक्ष बाबुलाल लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।

तस्वीरहरु : लक्ष्मण थापा । धरान ।












Discussion about this post