इटहरी (डेस्क) : सुनसरी र झापाका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ३ बाट लागूऔषध एन्फाटामाईन आईस र ब्राउनसुगरसहित ४ जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कचनकवल गाँउपालिका ६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका ७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी ६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी ५ का १६ बर्षीय बालक रहेका छन् । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ ।
यस्तै, झापाकै बुद्धशान्ती गाउँपालिका ३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगरसहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका २ बाट पाँचथरको फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागूऔषध सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई पाँच सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post