उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारबाही गर्ने जानकारी दिएका छन् ।
शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको बताए ।
अनुगमनका क्रममा पोखरा–४, चिप्लेढुंगामा रहेको यादव स्टोर्सले नुनको खुद्रा बिक्री मूल्य प्रतिकेजी रु २० रहेकामा रु २५ मा बेच्ने गरेको पाइएपछि मन्त्री भट्टले सो स्टोर्सलाई तत्कालै कारबाही गर्न निर्देशन दिएको बताइएको छ ।
उनी ग्राहक बनेर स्टोर्समा गइ नुनको मूल्य सोधेका थिए ।
खुद्रा मूल्यभन्दा बढी भनेपछि सो स्टोर्सलाई तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाउन मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा आपूर्ति महाशाखाका सहसचिव प्रकाश दाहाललाई आवश्यक निर्देशन दिएको मन्त्री भट्टका निजी सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।
‘हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल, औषधि पसललगायतको अनुगमनमा छौं । हिजो केही पसलमा अनुगमन गर्यौं । केहीमा खुद्रा मूल्यभन्दा बढी लिएकोसमेत पाइयो’–बस्नेतले भने–‘बढी मूल्य लिनेलाई कारबाहीका लागि वाणिज्यको टोली पठाइसकिएको छ । उहाँहरुले किनेको पसलमै त्यति मूल्य तिरेको भन्नुभएको छ । तर, त्यहाँको नम्बर माग्दा दिनुभएको छैन ।’
पर्यटकीय सहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको वस्तुस्थितिका बारेमा जानकारी लिनका लागि मन्त्री भट्टसहितको सो मन्त्रालयका उच्च अधिकृत संलग्न टोली यहाँ आएको बताइन्छ ।
पछिल्लो समय देशमा ‘कोरोनाभाइरस’ संक्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकाय चनाखो बनेका छन् ।
जिल्ला प्रशासन, उपभोक्ता समितिलगायतका संघ–संस्थालेसमेत जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरिनु गैरकानुनी रहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा विक्रेतालाई कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।
कर्पोरेसनसँग अहिले कम्तीमा पनि १० महिनाका लागि पुग्नेगरी नुन मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
‘देशभर मासिक १६ हजार मेट्रिकटन नुन खपत हुन्छ । हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिकटन नुन मौज्दात छ । अहिलेको अवस्थामा समेत आगामी १० महिनालाई पर्याप्त हुन्छ । आत्तिनु पर्दैन’–प्रबन्धक झाले भने । : रासस
Discussion about this post