धरान : धरानको सर्दु खोलामा खानेपानीको उत्पादन बृद्धि गर्न मुहानको मर्मत कार्य सुरु भएको छ । खानेपानीको उत्पादन बृद्धि तथा वितरणमा सहजीकरण गर्नुका साथै सफा खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी व्यवस्थापन बोर्डले मर्मत कार्य सुरु गरेको हो ।
आइतबार बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख तिलक राई उक्त क्षेत्रमा स्थलगत अनुगमन गर्न पुगेका छन् । बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार अहिले ३० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ ।
एक हप्ताभित्रमा काम सकिने उनले बताए । ‘बर्खायाममा सर्दुको पानी फोहर आउने, पानी पर्न थालेपछि धमिलो आउने, धेरै फोहर आयो भने फिल्टर प्लान्टहरुले पनि काम नगर्ने,’ उनले भने, ‘सर्दुको मुहानमा एकातिरबाट सफा पानी आउँछ, अर्कातिरबाट बर्खायाममा अलि फोहर पानी आउँछ ।’
सफा पानी आउनेतिर एउटा जम्मा गर्ने ट्यांकी निर्माण गरिनेछ । पाइपलाइन ल्याएर ईन्टेकमा झार्नको लागि अहिले काम सुरु गरिसकेको उहाँले बताउनुभयो । सर्दुको मुहान क्षेत्रमा पाइपलाइन सबै पुर्याइसकिएको छ । अहिले तुरुन्तै गरियो भने पनि सर्दुको पानीको मात्रा बढाउन सकिने बताउँदै पोखरेलले भने, ‘बर्खामा फोहर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाइन्छ ।’
अनुगमनको क्रममा नगर प्रमुख राईले समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । ‘स्थलगत निरीक्षण गर्दा काम अहिलेसम्म सन्तोषजनक रुपमा भइरहेको पाइयो र छिटो काम सक्नको लागि मेयरसाबबाट निर्देशन पनि आएको छ,’ उनले भने ।
सर्दुको मुहान क्षेत्रमै बसेर कामदारहरुले विहानदेखि नै काम गरिरहेका छन् ।














Discussion about this post