तरहरा : इटहरी २० तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारीले इटहरीमा निजी स्तरबाट सञ्चालनमा आउन लागेको आइसोलेसनलाई तीन महिनाका लागि दूग्धजन्य पदार्थ निःशुल्क दिने भएको छ ।
इटहरी १० स्थित पिपुल्स हेल्थ मल्टिपल कलेजमा सञ्चालनमा आउन लागेको आइसोलेसनलाई तीन महिनाका लागि कामधेनुले दूग्धजन्य पदार्थ निःशुल्क दिने भएको हो ।
उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वमा प्रेस युनियन सुनसरी, मारवाडी सेवा समिति इटहरी, श्री कृष्ण प्रणामी मन्दिर इटहरी र नेपाल युवा उद्यमी मन्चको सहकार्यमा सञ्चालनमा आउन लागेको आइसोलेसनमा आफूहरुले निःशुल्क दूग्धजन्य पदार्थ सहयोग गरिने कामधेनुका अध्यक्ष बाबुराम खत्रीले जानकारी दिए ।
सोमबार कामधेनुका निमित्त ब्यवस्थापक पर्शुराम कार्की (मनोज) सहितको टोलीले कोभिड ब्यवस्थापन समितिका सदस्य एवम् प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी सहितका पदाधिकारी संघ प्रतिबद्धता पत्रसहित सम्झौता गरेका थिए । कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफूहरु खुशी रहेको बताए ।
त्यस्तै, इटहरी ६ मा रहेको तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एक महिनाका लागि दूध तथा दूग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सन्चालन तथा मुल ब्यवस्थापन समितिका संयोजक भीम पौडेल र तमोर डेरी उद्योगका अध्यक्ष प्रदीप अधिकारीले निःशुल्क दूग्धजन्य पदार्थ एक महिनाका लागि दिने प्रतिबद्धता जनाएका छन् ।
४० बेड अक्सिजनसहित पहिलो चरणमा जम्मा ८० बेडमा सन्चालन आउन लागेको आइसोलेसन निर्माणका सम्पूर्ण तयारी सकिएको र सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए ।
निःशुल्क बस्ने, खानेसहित आइसोलेसनमा खेलकुदका सामाग्रीहरु, इन्टरनेट सेवासहित योगा गर्ने सम्मको प्रबन्ध मिलाइएको मारवाडी सेवा समितिका अध्यक्ष मुकेश अग्रवालले बताए ।












Discussion about this post