इटहरी : मुलुकमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका जननायक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ३९ औं स्मृति दिवस आज विविध कार्यक्रम गरेर मनाइँदै छ ।
मुलुकको साहित्यिक क्षेत्रको विकास र देशलाई राणा शासनबाट मुक्त गर्न वीपीको महत्वपूर्ण योगदान छ । उनकै नेतृत्वमा नेपालमा एकतन्त्रीय एवं जहानीय राणा शासनको अन्त्य भएको हो । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विक्रम संवत २००३ सालमा वीपीकै अग्रसरतामा नेपाल राष्ट्रिय काङ्ग्रेसको स्थापना भयो ।
विसं २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । उनै प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवस आज मनाइँदै छ ।
विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गरेका वीपीको दोषी चश्मा कथासङ्ग्रह लगायतका कृति प्रकाशित छन् । उनले सुन्दरीजल बन्दीगृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गरेका थिए ।
वीपीले आफू कारागारमा रहँदा ‘श्वेतभैरवी’ कथासङ्ग्रह तथा ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ आत्मजीवनीलगायतका साहित्यिक कृतिको रचना गरे ।
प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै २०३९ साल साउन ६ अर्थात् आजकै दिन उनको निधन भएको हो ।














Discussion about this post