धरान : धरान उपमहानगरपालिकाले (टीएलओ) टोल विकास संस्थाहरूलाई कानून सम्बन्धी दुई दिने सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा धरान १ स्थित उद्योग वाणिज्य संघको हलमा मङ्गलबारदेखि टीएलओ सचेतना कार्यक्रम सुरु गरेको हो । आज पहिलो दिन धरानका वडा नं. १ देखि वडा नं. १३ सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए ।
बुधबार वडा नं. १४ देखि वडा नं. २० सम्मका टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम दिइनेछ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले धरानका वडा नं. १ देखि २० सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुन सम्बन्धि सचेतना कार्यक्रम गरिएको बताए । ‘जबसम्म नागरिकहरुले कुनै पनि कुराहरु बुझेका हुदैनन्, तबसम्म कानुनको कार्यान्वयन हुन सक्दैन,’ मेयर राईले भने ।
नागरिकहरुलाई कानून सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर बुझाउनु स्थानीय सरकारको दायित्व रहेको मेयर राईको भनाई थियो । राईले कार्यक्रममा सहभागी भएका प्रतिनिधिहरूलाई बुझेको कुरा शेयर गर्न, नबुझेको कुरा बुझाउन आग्रह गर्दै अभ्यासले मानिसलाई परिपक्क बनाउने कुरामा जोड दिए ।
उपमहानगरपालिकाका कानूनी सल्लाहकार अवईन्द्र निरौलाले वडाको नगरपालिकाको, न्यायिक समितिको काम कर्तव्य के हो ? यी सबै कुरामा जानकारी हुन आवश्यक रहेको बताए । कानूनी सल्लाहकार जनार्दन कोइरालाले दुई दिनको अवधिमा टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुनको परिचय, कानून निर्माणको प्रक्रियामा सहजीकरण गरिने जानकारी दिए ।














Discussion about this post