इटहरी : इटहरीमा वेश्या वृत्ति गराएको आरोपमा प्रहरीले होटल सञ्चालक आमाछोरा र एकजना ग्राहकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी १२ स्थित एक होटलबाट वेश्या वृत्ति गराएको आरोपमा आमाछोरासहित एकजना ग्राहकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी १२ मा होटल सञ्चालन गर्दै आएकी सावित्रा लामिछाने र उनका छोरा किरण लामिछाने छन् । यस्तै, ग्राहक बनेर गएका इटहरी ११ का गुणराज पोखरेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘होटलको बाहिर बोर्ड राखेको छैन, तर पक्राउ परेकाहरूले बस्नेत होटल भनेका छन्,’ कटवालले फोन सम्पर्कमा टाकुरासँग भने, ‘तल खाजा खाने र माथि रुममा लैजाने गरेको खुलेको छ, पीडितलाई होटलमै राखेर यौन व्यवसाय गर्दै आएका रहेछन् ।’ विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको उनले बताए ।
उनीहरूलाई गत असोज २६ गते पक्राउ गरिएपनि ढिलो मात्रै प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार २२ वर्षीया युवतीलाई होटलमा राखेर यौन व्यवसाय गर्दै आएको खुलेको छ ।
पक्राउ परेकामाथि थप अनसन्धान भइरहेको कटवालले बताए । ‘हामी अझै पनि अनुसन्धानकै क्रममा छौँ, अहिले अनुसन्धान चलिरहेको छ ।’ उनले भने ।














Discussion about this post