इटहरी (डेस्क) : अस्पतालबाट डिस्चार्ज भएपनि पैसा तिर्न नसक्दा घरै जान नपाएपछि एक युवकले अस्पतालबाटै हाम फालेर आत्महत्या गरेका छन् ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका एक बिरामीलाई तीन दिनअघि नै डिस्चार्ज दिइएको थियो । तर, पैसा तिर्न नसकेपछि अस्पतालले घर जान दिएन । उपचार गराउँदा लागेको खर्च नतिरेका कारण घर जान नपाएका बिरामीले शुक्रबार तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार गोल्डेनमा भर्ना भएका मोरङको धनपालथान गाउँपालिका १ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलामाथिबाट हाम फाल्दा गम्भीर घाइते भएका थिए । घाइते भएपछि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका अनुसार छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मङ्सिर ३ गते ल्याइएको थियो । आइसियुमा राखेर अस्पतालले उपचार गरेको थियो । अस्पतालले मण्डललाई मङ्सिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचारवापतको १९ हजार रुपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।
अस्पतालको बन्धनमा रहेका कारण घर जान नपाएका उनले अचानक बिहान ६ बजेतिर हामफालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले उपचार खर्च तिर्न नसकेका कारण बिरामीलाई बन्धक नबनाइएको बताए ।
अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौँ भन्दै बिरामीलाई राखेको उनको दाबी छ ।














Discussion about this post