इटहरी : इटहरीमा आज (बिहीबार) बाट सुरु भएको सुनसरी जिल्ला स्तरीय ए डिभिजन जिल्ला लिग नक आउट फुटबलमा गोधूली क्लब र न्यू स्टार क्लबले विजयी सुरुआत गरेका छन् ।
इटहरीस्थित क्षेत्रीय रंगशालामा आज भएको पहिलो खेलमा धरानको गोधूली क्लबले दुहबीको एलेभेन एरोज क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । गोधुलीलाई विजयी बनाउने क्रममा सुशील राईले दोस्रो हाफको २३ औँ र दीपक गिरीले ३९ औँ मिनेटमा एक– एक गोल गरे । खेलको म्यान अफ द म्याच विजयी टिम गोधूलीका सबिन राई घोषित हुदै नगद १ हजार ५ सय रुपैँया पाए ।
आजै भएको दोस्रो खेलमा न्यू स्टार क्लब बराहक्षेत्रले दुहबीकै गोल्डेन स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । न्यू स्टारको जीतमा सुजित राईले दोस्रो हाफको २८ औँ मिनेटमा निर्णायक एक गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच न्यू स्टारका सन्तोष श्रेष्ठ घोषित भएका छन् ।
भोलि शुक्रबारको पहिलो खेल धरानको टेम्के क्लब र इटहरी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । यस्तै, दोस्रो खेल राष्ट्रिय जागृति क्लब इटहरी र धरान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
इटहरी रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाइ दुई समूहमा बिभाजित गरिएको छ । समूह क मा गोधूली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन् ।
यस्तै समूह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन् भने इटहरीका राष्ट्रिय जागृति क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।
१७ लाख रुपैँया खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले ३० हजार रुपैँया पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले बताए ।












Discussion about this post