इटहरी : इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यक्रमभरी एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोध गरिएको छ ।
आइतबार यहाँ आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं. १ स्तरीय प्रथम अधिवेशनको उद्घाटनको क्रममा अधिक वक्ताहरूले ओलीको विरोध गरेका हुन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेमा केपी ओलीको आलोचक र स्वतन्त्र व्यक्ति कोही पनि टिक्नेवाला नरहेको बताए ।
‘ओलीको पार्टीमा आलोचक र स्वतन्त्र व्यक्ति कोही रहनेवाला छैनन्,’ उनले भने, ‘१५ वर्ष पार्टी चलाएको मलाई र एमाले तथा माओवादी मिलेर पार्टी एक हुँदा अध्यक्ष भएका प्रचण्डलाई नटेरेका ओलीले अरु कसैलाई टेर्नेवाला छैनन् ।’
उनले ओलीले एमाले अध्यक्ष भएपछि पार्टी कब्जा गरी गुट चलाएर देवत्करण गरेको आरोप लगाए । एमालेमा कार्यकर्ताको कुनै सम्मान नरहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘एमाले पार्टीमा कार्यकर्ताको कुनै महत्व छैन, ओली एकदमै अटेरी र निरङ्कुश छन् ।’
ओली अध्यक्ष र प्रधानमन्त्री हुँदा निरङ्कुश शासक भएको आरोप लगाउँदै नेता नेपालले भने, ‘ओलीले राणाकाल, पञ्चायतजतिकै कठोर र पछिल्लो समय राजतन्त्रजतिकै निरङ्कुश भएर अघि बढेकैले गर्दा असल कम्यनिष्ट पार्टी बनाउन हामीले एकीकृत समाजवादी पार्टी खोलेका हौँ ।’
कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि सम्बोधनभरी ओलीकै विरोध गरेका थिए । देशमा ओली जत्तिको निरङ्कुश शासक अरु कोही नरहेको बताउँदै आफूहरूको पार्टी असल कम्युनिष्ट भएको बताए ।
यस्तै, कार्यक्रममा एमालेका निवर्तमान केन्द्रीय सदस्य धर्मराज निरौलासहितको टोली एकीकृत समाजवादीमा प्रवेश गरेको थियो ।
निरौलाले पनि कार्यक्रममा बोल्ने क्रममा ओलीको विरोध गरेका थिए ।
निरौलासंगै एमाले परित्याग गरी प्रदेश कमिटिका सदस्यहरू शम्भुप्रसाद आचार्य, श्याम नारायण राजधामी, सरोज बराल, किरण कार्की, गयाराम राजधामी, हिरालाल मेहता सहितका नेता पार्टी प्रवेश गरेका थिए ।














Discussion about this post