तरहरा : इटहरी उपमहानगरपालिका २० तरहराबाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा धनकुटाको सहिदभूमी गाउँपालिका १ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय सञ्जीव राई रहेका छन् ।
‘गएराति चेकिङको क्रममा पक्राउ गरेका हौँ,’ फोन सम्पर्कमा डीएसपी खड्काले भने, ‘थप विवरण केहीबेरमा प्रकाशित गर्नेछौँ ।’
उनका अनुसार गएराति करीब साढे १२ बजे प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रदेश १–०२–०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूले बोकेको झोला फालेका थिए ।
त्यसपछि प्रहरीलाई शंका लागेर दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिदाँ गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post