इटहरी : इटहरी रंगशालामा जारी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा धरानको गोधूली क्लब र बराहक्षेत्रको न्यू स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा गोधूली क्लबले दुहबीको गोल्डेन स्टार क्लबलाई २–१ गेल अन्तरले पराजित गरेको छ । गोधूलीको जीतमा बबिन लामा र सुशील राईले एक–एक गोल गरे । लामाले खेलको १५ औं मिनेटमा गोल गर्दा राईले ४० औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको १२ औं मिनेटमा गोल्डेनस्टार क्लबका दीलिप चौधरीले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए पनि हार टार्न सकेनन् । उक्त खेलको म्यान अफ द म्याच गोधुलीका सुशील राई घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए । उनलाई पूर्व राष्ट्रिय खेलाडी एवम् राखेपका बोर्ड सदस्य हरी खड्काले पुरस्कार प्रदान गरे ।
सोमबार नै सम्पन्न दोस्रो खेलमा लगातार तेस्रो जीत निकाल्ने क्रममा न्यू स्टार क्लबले दुहबीको एलेभेन एरोज क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
न्यू स्टारको जीतमा कृष्ण थापाले २१ औँ र सन्दिप श्रेष्ठले २८ औँ मिनेटमा गोल गर्दा सुजित राईले ७८ औं र अजय चौधरीले ८० औं मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच बिजयी न्यू स्टारका कृष्ण थापा घोषित भए ।
जारी लिगमा आफ्नो तीन खेलमा तीन वटैमा शतप्रतिशत जीत निकाल्दै ९ अंक सहित शीर्ष स्थानमा रहँदै न्यू स्टार सेमिफाइनल प्रवेश गर्दा तीन खेलमा दुईमा जीत एकमा हार सहित ६ अंकका साथ समूह उपविजेता बन्दै गोधूली क्लब पनि सेमिफाइनल प्रवेश गरेको हो ।
तीन खेलमा दुईमा हार र एकमा जीत निकाल्दै समुहको तेस्रो स्थानमा रहेको एलेभेन एरोज क्लब दुहबी र आफ्नो तीन वटै खेलमा पराजित गोल्डेनस्टार क्लब दुहबी भने प्रतियोगिताबाट बाहिरिएका छन ।
अब समूह ख बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो भने भोलि मंगलबार हुने अन्तिम चरणको खेलबाट हुनेछ ।












Discussion about this post