धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याइने खानेपानीको मुख्य ट्रंक लाईन (पाईप) मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि आजदेखि मर्मत कार्य सुरु गरेको छ ।
बोर्डका अनुसार खानेपानीका ट्रंक लाइन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मूख्य ट्रंक लाइनमा स्लुईस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण ट्रंक लाइनमा नयाँ स्लुईस भल्भ राख्नका लागि आज बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताए ।
चारकोशे जंगलबाट ल्याइने मूख्य ट्रंक लाइनको पाँच स्थानमा लिकेज भएको छ भने यता धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । उक्त स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि उनले बताए ।
उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिनेछ । फुटेको ट्रंक लाइनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्ने उनको भनाइ छ ।
खानेपानी लिकेज भएको मुख्य ट्रंक लाइनको मेयर तिलक राईले आज स्थलगत रूपमा अनुगमन गरेका छन् । अनुगमनको क्रममा बोर्डका अध्यक्ष समेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन दिए ।
यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका ईञ्जिनियर प्रशान्त अधिकारीले बताए । उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए ।
उनले जंगल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरू सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाइसकिएको बताए ।














Discussion about this post