धरान : धरानमा प्रत्येक वर्ष हुने वडास्तरीय प्रतियोगिता गोधूली कप फुटबल प्रतियोगिता शनिबार (भोलि) देखि सुरु हुने भएको छ ।
२२ औं गोधूली फुटबल रनिङ कप प्रतियोगितामा धरानका २० वटै वडाले प्रतिष्पर्धा गर्ने भएका छन् । भोलि हुने उद्घाटन खेल वडा नं. १५ र वडा नं. ३ का बीच धरान रंगशालामा ३ बजेदेखि सुरु हुने भएको छ ।
धरान १७ को गोधूली क्लबले २०५० सालदेखि सुरु गरेको वडास्तरीय गोधूली कपको विजेताले यस वर्ष नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गोधूली क्लबले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
साथै प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविण राईले २५÷२५ हजार थप पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गर्ने ८ वटा टोलीले धरान लिग खेल्न पाउने भएको छ । धरान उपमहानगरपालिकाले आयोजना गर्ने लिगमा शीर्ष ८ टिमलाई अवसर दिइने सहमति भएको क्लबले जनाएको छ ।
धरानमा वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरी फुटबल विकास गर्ने अवधारणा प्रस्तुत गर्ने स्व. सुवास राईको स्मृतिमा उपमहानगरपालिकाले लिगको आयोजना गर्ने तयारी गरेको क्लबका उपाध्यक्ष सतिस केसीले बताए ।
प्रतियोगिता शनिबार पुष २४ गते देखि धरान १६ स्थित रंगशालामा शुरु भइ माघ ८ गते फाइनल खेल हुने गोधूली क्लबले तालिका समेत सार्वजनिक गरेको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ भने प्रतियोगितामा धरानको वडा कार्यालयहरूले आफ्नो वडाका खेलाडीहरु समेटेर फुटबल टिम तयार गरी सहभागिता गराउने गरेको छ ।












Discussion about this post