इटहरी : सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबलको उपाधी धरान फुटबल क्लबले जितेको छ ।
इटहरी रंगशालामा आज (आइतबार) सम्पन्न फाइनल खेलमा धरानकै गोधूली क्लबलार्ई सडेन डेथमा पराजित गर्दै धरानले उपाधी जितेको हो ।
उपाधीसंगै प्रदेश लिगको लागि समेत छनौट भएको धरान फुटबल क्लबले नगद ५० हजार रुपैँया हात पारेको छ भने उपबिजेता गोधुली क्लबले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
निर्धारित ९० मिनेट र त्यसपछिको १५ मिनेट थपिएको अतिरिक्त समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउट समेत दुबै टिमले ५–५ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडेन डेथबाट लिइएको हो । सडेन डेथमा गोधूलीका नीमा शेर्पाको प्रहार बाहिरिनुनै उसका लागि दुर्भाग्य बन्दा धरान फुटबल क्लबका सुबेश राइले गोल गर्न सफल भएपछि धरानको भाग्य चम्किएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच गोधूली क्लबका सबिन राई घोषित भए ।
बिधागत पुरस्कारतर्फ धरान फुटबल क्लबकै बर्चश्व रह्यो । धरान फुटबलका क्याप्टेन रिवश मास्के उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । धरानकै राजीव खड्का उत्कृष्ट गोलकिप्पर र सागर घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए ।
गोधूली फुटबल क्लबका सुशील राई उत्कृष्ट मिडफिल्डर, राष्ट्रिय जागृति क्लब इटहरीका अनिष चौधरी उत्कृष्ट डिफेन्स, न्यू स्टार क्लब बराहक्षेत्रका सन्दीप श्रेष्ठ उत्कृष्ट स्टाईकर घोषित भए ।
उनीहरू सबैले जनही ३ हजार ५ सय नगद पुरस्कार पाए । सुनसरी जिल्ला फुटबल संघका आयोजनामा सम्पन्न लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गरेका थिए ।












Discussion about this post