धरान : धरानमा जारी २२ औं संस्करणको गोधूली टुबोर्ग फुटबल रनिङ कपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
आज (बिहीबार) धरान रंगशालामा भएको खेलमा जीत हात पार्दै धरान १६ र धरान १३ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यससँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
आज भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ७ लाई ४–० गोल अन्तरले पराजित गरेको थियो । १६ नं. वडाका लागि सरोज लाकान्द्रीले २ गोल गरेका थिए भने प्रदीप लिम्बू र जलान तुम्बापोले एक एक गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच १६ नं. वडाका जमिन लिम्बू घोषित भएका थिए । उनलाई नगद एक हजार पाँच सय पुरस्कार प्रदान गरिएको थियो ।
आजै भएको दोस्रो खेलमा १३ नं. वडाले ६ नं. वडालाई सडन डेथमा पराजित गरेको छ । निर्धारित समयको खेल १/१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४/४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
६ नं. वडाले अन्तिम ३ मिनेट सम्हालिन नसक्दा हार बेहोरेको हो । ६ नं. वडाका समिर लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन ३ मिनेट बाँकी रहदा १३ नं. वडाका अशोक कटवालले गोल गर्दै खेल बराबरी गरेका थिए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा ६ नं. वडाका अजय बिष्ट, गोविन्द्र कार्की, समीर लिम्बू र अर्जुन लिम्बूले गोल गरेका थिए भने अमित योञ्जनको प्रहार १३ नं. वडाका गोल किपरले रोकेका थिए । त्यस्तै, गरी १३ नं. वडाका विवेक राई, मिलन लिम्बू, अकोश कटवाल र मन्दिप राईले गोल गरेका थिए भने निश्चल श्रेष्ठको प्रहार ६ नं. वडाका गोल किपरले रोकेका थिए ।
सडन डेथमा १३ नं. वडाका विवेक राईले गोल गर्दा ६ नं. वडाका नवीन विश्वकर्माले गोल गर्न चुकेका थिए ।
क्वाटरफाइनलका चारवटै खेल भोलि (शुक्रबार) नै सम्पन्न हुने आयोजक गोधूली क्लबले जनाएको छ । यसअघि धरानको वडा नं. १५, १४, १९, ८, १८ र ११ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले संयोजन गरेको छ भने गोर्खा ब्रुअरी प्रालिले पनि निरन्तर रुपमा प्रायोजन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।












Discussion about this post