इटहरी : मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना सुनसरीका १८ वर्षीय किशोर छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार हत्याकाण्डका फरारमध्ये पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय मोहमद हकिम र मोरङ रङ्गेली ३ का २२ वर्षीय मोहमद सुभाम रहेका छन् ।
‘उनीहरूलाई हामीले हिजो साँझ मोरङबाटै पक्राउ गरेका हौँ,’ एसपी जिसीले भने, ‘हाम्रा आफ्नै अनुसन्धानका टेक्निसहरू छन्, सोही टेक्निसलाई फलो गरेर पक्राउ गरेका हौँ ।’
यसअघि शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै तीनजना अभियुक्तलाई सार्वजनिक गरेको थियो । सिरहा नगरपालिका २१ स्थायी घर भइ हाल काठमाण्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल, उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका ४ स्विनीका २९ बर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ बर्षीय नासिर आलमलाई यसअघि नै मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले थप दुईजनालाई शुक्रबार साँझ पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो ।
‘पछि पक्राउ परेकाहरू गरीब मजदुर हुन्, दैनिक ज्यालादारीमा निर्भर रहँदै आएका उनीहरू चालिस हजारको लोभमा हत्यामा संलग्न भएको खुलेको छ,’ एसपी जिसीले टाकुरान्यूजसँग भने, ‘क्वीक अप्रेसन फलो गरेर उनीहरूलाई पक्राउ गरेका हौँ, ज्याला मजदुरी गर्दै आएकाहरूलाई चालिस हजारको लोभ देखाइएको रहेछ ।’
एसपी जिसीका अनुसार अनिलकुमार मण्डलले अमित भनिने दिनानाथ साहलाई लेभर खोज्ने जिम्मा दिएकाले उनैले प्रतिव्यक्ति चालिस हजार दिने लोभमा ती दुईजनालाई काम लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोरङको धनपालथान गाउँपालिका वडा नं.७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा गत माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका ४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान ३ स्थायी घर भइ हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो ।
यस्तै, माघ २० गते ललितपुरको गोदावारी नगरपालिका १२ ठेचो चरंगखेलस्थित गोदाम घर रहेको कम्पाउण्ड क्षेत्रमा तेह्रथुमको संक्रान्ति २ घर भइ हाल काठमाण्डौं ८ गोठाटार बस्दै आएका मोहन लिम्बुको पनि शव फेला पारेको थियो ।
तीनवटै हत्या एकै किसिमको भएपछि घटना रहस्यमय बनेको थियो । एपसी जिसीका अनुसार अरुहरूको पनि संलग्नता हुनसक्ने भएकाले प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको छ ।
यो पनि – मोरङ हत्याकाण्ड : पैसा बाँडफाँटमा कुरा नमिल्दा तीन व्यवसायीको एकै समूहबाट हत्या














Discussion about this post