इटहरी : कारागारमा रहेका कैदीलाई थुनामुक्त गराइदिने भन्दै ३३ लाख ठगी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका २० तरहराका मन्दु भनिने जसबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी २० तरहराका लिम्बूलाई फागुन ३ गते पक्राउ गरिएपनि आज (आइतबार) मात्रै सार्वजनिक गरिएको हो । पक्राउ परेका उनीमाथि प्रारम्भिक अनुसन्धान गरेर सार्वजनिक गरिएको खड्काले बताए ।
‘कर्तब्य ज्यान मुद्वाको केसमा प्रहरी र न्यायधीश आफ्नो मान्छे छ मिलाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ,’ डीएसपी खड्काले टाकुरासँग भने, ‘पटकपटक गरेर ३३ लाख रुपैँया दिएको खुलेको छ, अर्का एक व्यक्ति फरार छन् ।’
डीएसपी खड्काका अनुसार इटहरी १२ खनार बस्ने तारा कार्की (पुरी)का श्रीमान सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई कारागारबाट छुटाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ ।
इटहरी १२ कै भरत चौधरीमार्फत पीडित लिम्बूकहाँ पुगेको र उनीहरूले पटकपटक गरी ठगी गरेको प्रहरीले जनाएको छ ।
कर्तब्य ज्यान मुद्वामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र र बालकृष्ण पुरीलाई थुनामुक्त गराइदिन्छौँ भन्दै प्रलोभनमा पारेको पीडितको भनाइ छ । आफूले जग्गा बन्धकी राखेर सो रकम उपलब्ध गराएको प्रहरीको जाहेरीमा उल्लेख गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
‘आरोपितमध्येका भरत चौधरी फरार छन्, उनले फोनमा बोलेको अडियो पनि हामीसँग सुरक्षित छ,’ डीएसपी खड्का भन्छन्, ‘फरार चौधरीको खोजी कार्य भइरहेको छ, पक्राउ परेकामाथि पनि थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार केही साता अघि मात्रै तेह्रथुम जिल्ला अदालतले पुरीलाई २५ वर्ष कैद सजाय तोकिएपछि घटना बाहिरिएको हो ।
‘कैद तोकिएपछि किन मान्छे निस्किएन भन्दै पीडितले सोधेपछि घटना बाहिरियो,’ खड्काले भने, ‘त्यसपछि हामी ठगीमा परेछौँ भनेर उहाँहरूले उजुरी गर्नुभयो, सो आधारमा पक्राउ गरेका हौँ ।’
पक्राउ परेका लिम्बूमाथि सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post