इटहरी (डेस्क) : मोटरसाइकल चोरीमा संग्लग्न रहेका ६ जनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार पक्राउ पर्नेमा एकजना भारतीय नागरिकसहित ६ जनाको गिरोह छ ।
उनीहरूलाई झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराव, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर नगरपालिका १ का ३० वर्षीय बिर्ख लिम्बू र भारत किसनगंजका १९ वर्षीय महम्मद समिम रहेका छन् ।
झापा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीको घटना भएको भनेर सवारी धनीहरूको लिखित निवेदन परेसँगै चोरी गर्ने व्यक्तिहरूको सुक्ष्म रूपले निगरानी तथा पहिचान गर्ने क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य पाँचजनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरिएसँगै विभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद गरिइको प्रहरीले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post