इटहरी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवारले सुसाइट लोट लेखेर झुुण्डिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
‘म आफैँ पनि घटनास्थल पुगेको थिएँ, प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या नै हो भन्ने खुलेको छ,’ एसपी थापाले टाकुरासँग भने, ‘हामीले झुण्डिएको स्थान नजिकै सुसाइट नोट फेला परेका थियौँ ।’ उनका अनुसार सुसाइट नोटमा म आफैँ झुण्डिएको र घटनाबारे अनुसन्धान नगर्न भनिएको थियो ।
मृतक पौडेलको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।
उनका अनुसार यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पौडेल रामधुनी ८ को वडाध्यक्षको स्वतन्त्र उम्मेदवार थिए ।
‘राति सँगै श्रीमतीसँग सुतेको र २ बजेतिर उठेर खोज्दा बिहान मात्रै मृत फेला पारिएकाले प्रहरीलाई खबर भयो,’ एसपी थापाले टाकुरासँग भने, ‘सुसाइट नोटमा भनिएको छ, यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू, पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु ।’
उनी यसअघि ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएको र यसपटक पनि टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा वडाध्यक्ष्मा उम्मेदवारी दिएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको आन्तरिक विवादकाबीच पौडेलले मानसिक सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको खुलेको उनले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना भएको आरोप लगाएकी छन् ।
‘बैशाख २१ गते २४ घण्टासम्म बेपत्ता भएकाले अपहरणमा परेको हामीले बुझेका थियौँ, उनले भनिन्, अपहरण गरेर भारत पु¥याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झुम्काबाट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो । प्रहरीले के बयान लियो थाहा छैन ।’
उनका अनुसार प्रहरी कार्यालयबाट बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै पौडेलले भनेपनि आधिकारिक कारण भने खुलेको छैन ।



















Discussion about this post