धरान : धरानमा २६ वर्षीया एक महिलाले आत्महत्या गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरलाई कर्तव्य ज्यान मुद्वा परेको छ ।
धरानको एक होटलमा आत्महत्या गरेको घटनामा प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका २३ बस्ने डा. करण यादव छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार बाराको कलैया माइतीघर भएकी र रौतहटको पौरही ५ मा विवाह गरेकी २६ वर्षीया प्रकृति सुवेदीले डा. यादवलाई भेट्न आएका बेला बिहीबार धरान १० स्थित जनहित गेस्ट हाउसको कोठामा पासो लगाएर आत्महत्या प्रयास गरेकी थिइन् ।
तर, उनको उपचारको क्रममा मृत्यु भएपछि डा. यादवलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रायले बताए ।
९ वर्षीया छोराकी आमा सुवेदी र उनका श्रीमान् केही वर्षदेखि अलग्गै बस्दै आएको र दम्पतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक सुवेदीका आफन्तले डा. यादव विरुद्ध आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिने तयारी गरेका छन् ।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।



















Discussion about this post