इटहरी : मोरङमा यात्रुबाहक बसमा एसिड पोखिदाँ सुनसरीकी एक महिलासहित पाँचजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मोरङको कटहरीमा मंगलबार रङ्गेलीतर्फ जाँदै गरेको को १ ख ३९८१ नम्बरको बसमा दिउँसो ३ः३० बजेतिर एसिड पोखिएको हो ।
डीएसपी श्रेष्ठका अनुसार एसिड पोखिदाँ बसका सहचालकसहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ की ४० वर्षीया सुमित्रा उराउ, मोरङको सुनवर्षी नगरपालिका ४ की २२ वर्षीया निता राजवंशी, सुनवर्षी ९ की २२ वर्षीया सविहा खानम, धनपालथान गाउँपालिका ५ का ४२ वर्षीय ओमनारायण राजवंशी र भोजपुरको अरुण गाउँपालिका १ याङपाङका २० वर्षीय विनोद परियार रहेका छन् । घाइतेमध्ये विनोद बसका सहचालक हुन् ।
एसिडका कारण शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरूको विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कटहरी ४ का २५ वर्षीय राहुल साहले प्लाष्टिकको बोतलमा बोकेको एसिड पोखिएको थियो । उनी सुनचाँदी व्यवसाय गर्दै आएको खुलेको छ ।
बस चालकले ब्रेक लगाउँदा बोतलको बिर्को खुलेर बसमा पोखिँदा एसिडले लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
एसिड बोकेर हिड्ने साह तत्काल फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post