तरहरा : इटहरी २० तरहरामा रहेको कुण्ड पुर्नजीवन केन्द्र (लागूऔषध तथा मादक पदार्थ सुधार गृह) मा तीनदिने सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
इटहरी सिटी लियो क्लबद्वारा आयोजित र आर्ट अफ लिभिङ्ग इटहरीद्वारा सहजीकरण गरिएको कार्यक्रममा ३३ सहभागी थिए । आर्ट अफ लिभिङ्गका प्रशिक्षक नवीन आचार्यद्वारा उक्त सचेतना कार्यक्रम सञ्चालन भएको हो ।
उनका अनुसार लिभिङ्ग वेल डि–एडिक्सन कार्यक्रमहरू मदिरा र धुम्रपानको लत लगायत शारीरिक, सामाजिक र मनोवैज्ञानिक समस्याहरूलाई सम्बोधन गर्ने सक्रिय पहल हो ।
लिभिङ वेल डि–एडिक्सन कार्यक्रम विश्वभर १५० भन्दा बढी देशहरूमा लागूऔषध दुर्व्यसनीलाई नयाँ जीवन सुरु गर्न लाभान्वित गर्दै आएको अभियान रहेको उनले बताए ।
कार्यक्रममा धुम्रपान रोक्नुहोस्, बाँच्न सुरु गर्नुहोस् र मदिरा लतमुक्तिको लागि दिव्यता भन्ने सन्देश दिन आयोजना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गराइने सुदर्शन क्रिया नामक श्वासप्रश्वास प्रविधिले मानव शरीरमा भएको विभिन्न विकारहरु ८५ प्रतिशतले शरीर बाहिर निकाल्छ र शारीरिक, मानसिक र भावनात्मक स्तरमा स्वस्थ बनाउने उनले बताए ।
कुण्ड पुनर्जीवन केन्द्रका अध्यक्ष राजकुमार ढुंगानाले इटहरी सिटी लियो क्लब र आर्ट अफ लिभिङ्गले ३ दिने योग शिविर आयोजना गरेर आफूहरूमा सकारात्मक परिवर्तन भएको बताए।
इटहरी सिटी लियो क्लबका अध्यक्ष लियो विवेक घिमिरेले दुर्व्यसनमा फसेका सम्पूर्ण उपचाररत सहभागीहरुलाई नशामुक्त जीवन जिउन हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरेको जानकारी दिए ।














Discussion about this post