सुनसरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाले गठन गरेको उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।
शिक्षा शाखाको संयोजनमा असार ३० गतेदेखि साउन २३ गतेसम्म गाउँपालिकाका ८ वटै वडामा गरिएको अनुगमन तथा निरीक्षणपछि कार्यदलले बिहीबार (आज) एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रतिवेदन बझाएको हो ।
धीरेन्द्रप्रसाद यादवको संयोजत्वमा बनेको १० सदस्य कार्यदलले एक महिना समय लगाएर गाउँपालिकाको ६६ वटा शैक्षिक संस्थाहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो ।
अनुगमन टोलीले २६ वटा सामुदायिक विद्यालय, १५ वटा धार्मिक विद्यालय र २५ वटा सामुदायिक बाल विकास केन्द्रको अनुगमन तथा निरीक्षण गरिएको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनमा गाउँपालिका भित्र रहेका शैक्षिक संस्थामा देखिएको बेथिति, भ्रष्टाचार, मनोमानी र फर्जी बिद्यार्थीहरूका विषयहरू समेटिएका छन् । प्रत्येक शैक्षिक संस्थाको वर्तमान अवस्था, समस्याहरू र समाधानका विषयहरू समेत सुझावको रूपमा कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको थियो ।
विभिन्न वडामा सञ्चालित विद्यालय, मद्रासा र बाल विकास केन्द्रमा शिक्षकहरूको दरबन्दी अभाव भएको, अध्यापन राम्रो नगराइएको, बिद्यार्थीहरु उपस्थित नभएको, शैक्षिक सामाग्रीहरूमा भ्रष्टाचार गरेको र पाठ्यपुस्तक व्यवस्थापन राम्रो नभएको जस्ता समस्याहरू समावेश गरिएको जनाइएको छ ।
साथै समस्याहरूको समाधानका उपायहरू समेत सुझावको रूपमा उल्लेख गरिएको उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदलका संयोजक धीरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
अब विगतमा झैँ मनलाग्दी रूपले शैक्षिक क्षेत्रमा हुने बेथिति र भ्रष्टाचारलाई हटाउने अभियानको सुरुवात भएको समेत उनले बताए ।
प्रतिवेदन बुझ्दै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले अब आफ्नो कार्यकालमा शिक्षाको अवस्था सुधार हुने उद्घोष गरे । शिक्षाको नाममा बेथिति र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको भागिदार बनाउने उनले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबु नन्दन मेहताले पनि शिक्षा क्षेत्रमा अब परिवर्तन हुने बताए ।
गाउँपालिकाले बनाएको कार्यदलले कसैको दबाब र प्रभावमा नपरी बनाएको प्रतिवेदन कार्यान्वयन गरिने र यसमा सबै अभिभावकहरूले साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, अध्यक्ष आजाद र प्रशासकीय अधिकृत मेहता लगायत अतिथिहरूले कार्यदलमा रहेका सदस्यहरूलाई सम्मान गरे ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख रमेश तिम्सिना, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।














Discussion about this post