इटहरी : प्रदेश नम्बर १ स्तरीय जुडो खेलको प्रतियोगिता धरान रंगशालाको मिनी कभर्डहलमा सोमबारबाट सुरु भएको छ ।
प्रदेश १ का ८ वटा जिल्लाका खेलाडीहरू समावेश भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका छन् ।
प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी, सोलुखुम्बु, इलाम, ओखलढुंगा लगायत प्रदेश १ का ८ वटा जिल्लाका खेलाडी सहभागी रहेको जुडो प्रतियोगिताका संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्टले बताए ।
प्रतियोगितामा नेपाल जुडो संघका केन्द्रीय अध्यक्ष दीपकहर्ष बज्राचार्यको उपस्थिति रहेको थियो ।
खेल उद्घाटन कार्यक्रममा बोल्दै राखेपका पूर्व सदस्य सचिव विष्टले खेल र खेलाडीको लागि अनुशासित मध्येको एउटा खेल जुडो भएको बताउँदै जुडो खेलको श्रीवृद्विमा आफ्नो सकारात्मक साथ रहेको बताए ।
प्रतियोगिता अवलोकन गर्न काठमाण्डौँबाट आएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सुनसरीमा जुडो संघको स्थापना गर्न पूर्व राखेपा सदस्य सचिव केशव कुमार विष्टको अहम् भूमिका रहेको भन्दै प्रशंसा गरे । जुडोले अनुशासन सिकाएको भन्दै उनले खेल सदैव अनुशासनसँग जोडिने बताए ।
सोमबारबाट सुरु भएको जुडो प्रतियोगिताको समापन खेल मंगलबार हुने प्रदेश १ खेलकुद विकास बोर्डकी सदस्य रोसनी राईले बताइन् ।












Discussion about this post