इटहरी : सत्ता गठबन्धनतर्फ माओबादी केन्द्रबाट सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार द्वारिकलाल चौधरीले नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीलाई आरोप लगाएका छन् ।
आफू इटहरीको मेयर रहँदा तीनै भण्डारीको षड्यन्त्रका कारण विकास निर्माणका काम गर्न नपाएको उनको आरोप छ ।
इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको एक कार्यक्रममा बोल्दै चौधरीले भने, ‘रेवती भण्डारी अहिले प्रदेशसभाको उम्मेदवार हुनुुहुन्छ, उहाँको षड्यन्त्रका कारण दुःख पाइयो, विकास गर्न पाइएन ।’
संघीय सरकारमार्फत इटहरी १५ मा एक करोड रुपैयाँ भन्दा बढी बजेट आएपनि प्रदेश सरकारले बजेट रोक्का गरेको उनको आरोप छ ।
उनले आफूले प्रमाण दिएर भन्न सक्ने बताउँदै उनले भने, ‘प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले दुईपटक बजेट फ्रिज गर्नुभयो, उहाँले टेण्डर ननिकालेका कारण विकास गर्न पाइएन ।’
इटहरीमा बन्ने भनिएको आकाशे पुलको डीपीआर आफूहरूले तयार गरेको भएपनि कोभिडको बहानामा प्रदेश सरकारले सूचना प्रकाशित नगर्दा लथालिङ्ग भएको उनको भनाई छ ।
विकास निर्माणका काममा तत्कालीन मुख्यमन्त्री राई उदासीन रहेको उनले बताए ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चौधरी सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यको प्रत्याशी छन् ।
उता, नेकपा एमालेले भने पार्टी सुनसरी अध्यक्ष समेत रहेका रेवती भण्डारीलाई चुनावी मैदानमा अगाडि सारेको छ । चुनावी प्रतिष्पर्धामै रहेका भण्डारीलाई चौधरीले बुधबार एक कार्यक्रममा षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।
यसअघि ०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाटै इटहरी उपमहानगरको मेयरमा निर्वाचित भएका उनी एमालेसँग असन्तुष्ट भएपनि असोजमा माओबादी केन्द्र प्रवेश गरेका थिए ।
भिडियो














Discussion about this post