इटहरी : इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।
गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै गर्भधारणमा उनले तिम्ल्याहा छोरी जन्माएकी हुन् । तर, अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले छोरी जन्माएकी हुन् । हाल आमा र तीनवटै छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीको नेतृत्वमा १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेपछि हाल उनीहरूको अवस्था सामान्य छ।
अस्पतालका अनुसार छोरी जन्मिदा उनीहरूको तौल सामान्यभन्दा निकै कम थियो । एउटाको ८०० र बाँकी दुईवटा छोरीको तौल ९०० ग्राम मात्र थियो ।
अस्पतालकी वरिष्ठ स्त्री, प्रसुति तथा निःसन्तान बिशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसुति गरेको थियो ।
हाल आमाछोरी चारैजना खतरामुक्त अवस्थामा रहेको अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
शिशुहरूमा अहिले कुनै समस्या नदेखिएकाले भविष्यमा हुनसक्ने सम्भावित जोखिमबाट समेत उनीहरू खतरामुक्त रहेको अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीले बताए ।
शिशुहरूको तौल सामान्य अवस्थामा पुग्न करिब १५ दिनको समय लाग्ने अस्पतालले जनाएको छ ।
विराट नर्सिङ होमको आईभिएफ प्रविधिका कारण पहिलो सन्तानका रूपमा छोरी पाएपछि रमाले खुसी व्यक्त गरेकी छिन्।














Discussion about this post