मोरङ : मोरङको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले बेलबारीको बेतना सिमसारअगाडि सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उनले आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानका क्रममा सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताएका हुन् ।
किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरूको ज्यान जाने गरेकाले स्थानीय स्तरमै सञ्चालन हुने सर्पदंश उपचार केन्द्रले नागरिकको जीवनरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
यसैगरी, विपन्न समुदायको स्वास्थ्य उपचारको जिम्मा आँफूले लिने प्रतिबद्धता समेत डा. शर्माले मतदातासमक्ष व्यक्त गरेका छन् ।
उपचार खर्चको अभावमा ज्यान जाने अवस्थाको अन्त्य गर्न आँफूले निजी स्रोतबाट भएपनि उपचार सेवा प्रवाह गर्ने उनले बताए ।
२०७४ को निर्वाचन जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालप्रति लक्षित गर्दै डा. शर्माले उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा कहिल्यै पाइला नटेको बताए ।
त्यसबेला आँफू पराजित भएपनि निरन्तर रूपमा स्थानीय मतदाताको निःस्वार्थ सेवा जारी राखेकाले मतदाताले विवेकपूर्ण मतदानबाट त्यसको मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।














Discussion about this post