इटहरी : इटहरीमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी १० की १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले आइतबार चारजनालाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार पक्राउ पर्नेहरूमा इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन् ।
‘घटना पुरानो भएपनि हामीकहाँ हिजो मात्रै जानकारी आयो र घटनामा संलग्नलाई पक्राउ गरेका हौँ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘पीडकले धाकधम्की दिएर घटना लुकाउन दबाब दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, हामी थप अनुसन्धान गरिरहेका छौँ ।’
इटहरी १० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे युवतीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छिमेकमा रहेको विवाहबाट घर फर्कने क्रममा चारजनाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिएर डर, त्रास देखाएको खुलेको छ ।
पक्राउ परेका उनीहरूमाथि प्रहरीले पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको बताइएको छ ।














Discussion about this post