इटहरी : बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले नवगठित सरकारले वार्तामा बोलाएको भन्दै आन्दोलन स्थगित गरेका छन् ।
बिहीबारदेखि राष्ट्र बैंक विराटनगर अगाडि अनिश्चितकालीन धर्नामा बसेका उद्योगी व्यवसायीहरूले माग सम्बोधन नभए पुनः आन्दोलनमा फर्किने गरी जारी आन्दोलन स्थगित गरेको घोषणा गरेका हुन् ।
आन्दोलनस्थल नेपाल राष्ट्रबैंक विराटनगर अगाडिबाटै मंगलबार बिहान उनीहरूले आन्दोलन स्थगित गरेको घोषणा गर्दै आजै काठमाडौं जाने जानकारी दिएका हुन् । सरकारले वार्तामा बोलाएको जानकारी आएपछि आन्दोलनरत उद्योगी व्यवसायीहरूले आन्दोलनस्थलमै छलफल गरेका थिए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रधानमन्त्री र अर्थमन्त्रीले नै वार्तामा बोलाएकोले आन्दोलन स्थगित गरिएको बताए ।
‘हामी हाम्रा माग वार्ताकै टेबुलमा राख्नेछौं, आजै काठमाडौं जाने निधो गरेका छौं’ रिजालले भने, ‘वार्तामा वीरगंज, भैरहवा, बुटवल, नेपालगंज र काठमाडौं उद्योग बाणिज्य महासंघका साथीहरू पनि सहभागी हुने भएकोले सरकारसँग राख्ने मागलाई अन्तिम रुप दिन लागेका छौं ।’
बैंकहरूको मात्रै नाफा सुरक्षित हुने गरी राष्ट्र बैंकले संरक्षण गरेको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका थिए । औद्योगिक व्यवसायिक संघसंगठनसहित करीव ४५ वटा वस्तुगत संघसंगठनले आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।














Discussion about this post