झापा : झापाको मेची कृषि सहकारी संस्था मेचीनगर ईटाभट्टाका बजार प्रतिनिधि (कलेक्टर) भेषराज खनाल हल्दिवारीको जंगलमा मृत फेला परेका छन् ।
मेचीनगर नगरपालिका वडा नं खनाल गत माघ २५ गते अन्दाजी बिहान १० बजे घरबाट सहकारीको पैसा कलेक्सनको लागि निस्किएका थिए । तर, सात दिनसम्म सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो ।
खोज्ने क्रममा बुधवार (हिजो) दिउँसो २ बजे हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुण्डिएर मृत अवस्थामा उनी फेला परेका हुन् । स्थानीयले शव झुन्डिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । कालो झोलासहित खनाल हराएका थिए ।
शवसंगै कालो झोला देखेपछि खनाल नै हुनसक्ने भनेर अनुमान गरेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले हराएकै दिन खनालले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।
शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
सहकारीमा काम गर्ने खनालले सहकारीको रकम चलाएको र सो रकम तिर्न नसक्ने सोचेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post