इटहरी : नेपाल शिक्षक संघ सुनसरीको नवौं जिल्ला अधिवेशन शनिबारबाट सुरु भएको छ । अधिवेशनको उद्घाटन नेपाली काग्रेंस कोसी प्रदेशका महामन्त्री उमेश थापाले गरेका छन् ।
सो क्रममा उनले शिक्षकको हक–हित र अधिकारको पक्षमा वकालत गर्ने नेतृत्व चयन गर्नुपर्ने बताए । शिक्षकहरूले भविष्यका कर्णधार विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा लाग्नुपर्नेमा जोड दिदै उनले पेशागत हितमा लाग्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले शिक्षा विषयमा अध्ययन गरेका प्रथम श्रेणी र सोभन्दा माथिको स्तर प्राप्त गर्ने व्यक्तिहरूलाई स्वतः शिक्षकमा नियुक्ति दिने प्रथा ल्याउनुपर्ने र थप सुविधा दिनुपर्नेमा जोड दिए ।
शिक्षकलाई प्रोत्साहन गरेर प्रतिभाशाली र योग्य व्यक्तिहरूलाई आकर्षण गर्न सक्ने वतावरण राज्यले निर्माण गर्नुपर्ने बताए ।
उनले शिक्षक नियुक्तिलाई पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउनुपर्ने, शिक्षकहरुको माग र मुद्धाहरू सहज सुनुवाई नभएको खण्डमा दबाब र संर्घषका कार्यक्रम पनि गर्नुपर्ने सुझाव दिए ।
नेपाली कांग्रेसका नेता सीताराम मेहताले शिक्षक समाजको ऐना भएकाले सम्मानसहित तलब वृद्धि र पेशागत पुनर्ताजगी तालिमको व्यवस्था मिलाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेंस सुनसरी सचिव वीरेन्द्र कुमार साहले संघलाई असल नेतृत्वको खाचो रहेको बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष बेनु सिग्देलको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन सत्रमा शिक्षक संघ कोसी प्रदेशका अध्यक्ष निर्मला कोईराला, संघीय शिक्षक संघका सुनसरी अध्यक्ष सुमन मेहता, राहत शिक्षक संघका वीयज चौधरी, शिक्षक संघका इन्द्रमोहन झा, कृष्णराज विष्ट, रामसागर मेहता, रामानन्द मण्डल, कोशी उपाध्यक्ष गंगा ढुगंना लगायतले शिक्षकले निजामती सरह सुविधा प्राप्त गर्न नसेकोले सबैजना एक जुट भएर समान सुविधा हुन दबाब दिन आवश्यक रहेकोमा जोड दिए ।
अधिवशनमा वर्तमान अध्यक्ष बेनु सिग्देल, पूर्व सचिव इन्द्र मोहन झा र वर्तमान सचिव देवनारायण यादव लगायतले अध्यक्षतामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सर्वसम्मत हुने सम्भावना कम रहेकाले चैत ४ गते शनिबार नेपाल शिक्षक संघ सुनसरीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने सम्भावना बढिरहेको संघले जनाएको छ ।
अन्य पदहरुमा पनि निर्वाचन हुन सक्ने भएपनि एक हप्ताको बीचमा मिलाउने र व्यवस्थापन गर्ने ‘लविङ’ हुने पूर्व अध्यक्ष दामोदर दाहालले जानकारी दिए ।











Discussion about this post