झापा : झापाको हल्दीबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका २ पाराखोपी निवासी अन्दाजी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेको थियो ।
सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चारआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।
‘अत्यधिक मदिरा सेवन गरेका उनले सर्प समातेर घाँटीमा बेर्न खोज्दा घटना घटेको हो,’ डीएसपी रिजालले भने ।
शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post