उदयपुर : उदयपुरमा महिलामाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाश राउत रहेका छन् ।
इलाका प्रहरी कार्यालय वेल्टारले शनिबार (आज) राउतलाई पक्राउ गरेको हो ।
सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिइएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए ।
वडाध्यक्ष राउतले शुक्रबार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैध रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिइन् ।
सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
वर्षाको समयमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको, त्यसमाथि सामुदायिक वन क्षेत्रभित्र पर्ने खोलाबाट गिट्टी निकाल्न मिल्दैन भन्दा आफूमाथि हातपात गरेको श्रेष्ठको आरोप छ ।
पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।














Discussion about this post