इटहरी : इटहरीको मोडर्न प्रिपरेटोरी सेकेण्डरी बोर्डिङ स्कूलमा आँखा जाँच शिविर आयोजना गरिने भएको छ ।
पछिल्लो सयम आँखा पाक्ने समस्या बढ्दै गएको भन्दै विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायका मानिसहरूलाई लक्षित निःशुल्क आँखा जाँच शिविरको आयोजना गर्ने भएको हो ।
विराट आँखा अस्पताल विराटनगरसँगको सहकार्यमा आँखा जाँच शिविरको आयोजना गर्न लागिएको विद्यालयका सहप्रधानाध्यापक रमेश निरौलाले बताए । उनका अनुसार बुधबार विद्यालय परिसरमा आँखा जाँच गरिने भएको छ ।
शिविरबाट विद्यार्थीहरू मात्र नभई अभिभावकसहित परिवारका सदस्यहरू र समुदायका अन्य सदस्यहरूसमेत लाभान्वित हुने निरौलाले बताए ।
उनले भने, “हामीले प्रत्येक वर्ष आँखा अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गर्दै आएका छौं । अहिले आँखाको समस्या बढ्दो रूपमा रहेकाले तत्काल आँखा शिविर राख्ने तयारी गरेका हौँ ।”
पूर्वमा बढ्यो आँखाको संक्रमण
विराटनगर, इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायत क्षेत्रमा आँखा पाक्ने समस्या देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनेको जनाएको छ ।
चिकित्सकहरूका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ । विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।
नेत्ररोग विशेषज्ञहरू पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरुको भनाइ छ ।
मौसममा भइरहेको फेरबदल, धुलो, धुवाँ, आँखाको सुरक्षामा हेरचेक्र्याइँ, असावधानी आदि कारणबाट आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएको चिकित्सकहरूको दाबी छ ।
संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ ।













Discussion about this post