झापा : झापाको धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) का प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न झापा जिल्ला अदालतले आदेश दिएको छ ।
मेचीनगर १० धुलाबारीस्थित सानो साथी किन्डर गार्टेनको सेप्टिक ट्याङ्कीमा डुबेर ८ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको घटनामा स्कुलका प्रिन्सिपल गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आइतबार आदेश दिएको हो ।
मुद्दाको थुनछेक बहसपछि अदालतले प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो भने अरु दुई जना आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
स्कूलकी व्यवस्थापक मेचीनगर १० की २४ वर्षीया अनिषा पोखरेल र सुसारे कर्मचारी मेचीनगर ११ की ३५ वर्षीया रमा सुनार रहेका थिए । अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो ।
आरोपितमध्ये स्कुलकै सञ्चालक काठमाडौं ३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने फरार छन् ।
थुनछेकको बहसमा वादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले वहस गरेका थिए । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता अशोककुमार पोखरेलले वहस गरेका थिए ।
गत असार २५ गते सेप्टिक ट्याङ्कीमा डुबेर तान्छोपको मृत्यु भएको थियो ।














Discussion about this post