विराटनगर : नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम राख्दा कमजोरी भएको स्वीकार गरेको छ । कोसी नाम खारेज गर्दै बहुपहिचानको आधारमा नाम राख्न मागसमेत गरेको छ ।
विराटनगरमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै माओबादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आलोचनासहित प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामांकन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेको बताए ।
२०७९ फागुन १७ गते प्रदेशसभा बैठकले तत्कालीन प्रदेश १ को नाम कोसी राख्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले कोसी नामको पक्षमा सहमति जनाएको थियो । तर, पहिचान पक्षधरले कोसी नामकरणको विरोधमा आन्दोलन चर्काएपछि माओबादीले नाममा समर्थन जनाउनु गल्ती भएको स्वीकार गर्दै बहुपचिानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने निष्कर्ष निकालेको हो ।
माओवादीको प्रदेश समिति बैठकले बहुपहिचानको आधारमा राख्न प्रतिवद्ध रहने निर्णय गरेको प्रदेश उनले बताए ।
पार्टी संगठनलाई थप सुदृढ गर्न १६ भदौदेखि ३ महिने अभियान सुरु गर्ने पनि नेम्वाङले बताए । प्रदेशका ११५७ वटै वडामा एकैसाथ अभियान उद्घाटन गर्ने गरी कार्यविभाजन गरिएको पनि नेम्वाङले जानकारी दिए ।
माओवादीले प्रदेशका विभिन्न स्थानमा गएको बाढीपहिरो र उदयपुरको बेलकामा कोसी कटानले ठूलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुर्नस्थापना गर्न नेपाल सर सरकारलाई अनुरोध गरेको छ ।
यस्तै, सुनसरी, मोरङ, झापामा फैलिएको डेंगु महामारी नियन्त्रणमा कदम चाल्नसमेत माग गरिएको छ ।














Discussion about this post