इटहरी : कोसी प्रदेशका ९७ प्रतिशत खेतमा रोपाइँ भएको छ । धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण रोपाइँ ढिलो भएपनि मध्य साउनपछि पर्याप्त वर्षा हुँदा ९७ प्रतिशत खेतमा रोपाइँ सकिएको हो । साउन मसान्तसम्म अधिकांश खेतमा धान रोपिएको र भदौ पहिलो साताभित्र शतप्रतिशत खेतमा रोपाइँ हुने अनुमान गरिएको छ ।
कोसी प्रदेशको धान खेती हुने ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ४० हजार ८२९ हेक्टरमा धान खेती हुने गरेको छ । साउन मसान्तसम्म ३ लाख २९ हजार ३५५ हेक्टरमा रोपाइँ सकिएको कृषि निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार प्रदेशको उच्च पहाडी जिल्ला सोलुखुम्बु र तराईको सुनसरीमा शतप्रतिशत धान रोपाइँ भएको छ । मोरङमा ९९ प्रतिशत र झापामा ९८ प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
पहाडी जिल्ला इलाममा भने ८५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार पहाडी जिल्लामा ९५ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ९५।३२ प्रतिशत धान रोपाइँ भएको हो ।
ताप्लेजुङमा ९५ प्रतिशत अर्थात् ८ हजार ३०० हेक्टरमा, संखुवासभामा १३ हजार एक सय ५८ हेक्टरमा रोपाइँ भएको छ । सोलुखुम्बुमा शतप्रतिशत अर्थात् १५ हजार २५ हेक्टरमा धान रोपाइँ भइसकेको छ ।
कोसी प्रदेशका पहाडी जिल्लाका ९० हजार ९१६ हेक्टरमा धान खेती हुने गरेकोमा ८० हजार हेक्टर भन्दा बढी खेतमा रोपाइँ सकिएको छ ।
झापा, मोरङ र सुनसरी जिल्लाका २ लाख २५ हजार ८०० हेक्टरमध्ये २ लाख २३ हजार २१७ हेक्टर अर्थात् ९८.८६ प्रतिशत खेतमा रोपाइँ भएको निर्देशनालयले जानकारी दिएको छ ।














Discussion about this post