झापा : झापामा झुटो विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्व वडाध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गते गरेको फैसला अनुसार तत्कालीन वडाध्यक्ष रहेका राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
अदालतको फैसला आए पनि उनी फरार थिए । फरार अभियुक्त पक्राउ गर्ने क्रममा उनलाई आइतबार पक्राउ गरी अदालतमा पेस गरेर फैसला कार्यान्वयन लागि कारागार चलान गरिएको हो ।
राजवंशीले जानाजान रूपमा नक्कली कागजपत्र बनाएर जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ गैर नेपालीलाई नागरिकता दिन भूमिका खेलेको आरोप लागेको थियो ।














Discussion about this post